Listen Live

कर्मचारीको आवरणमा रहेका भूमाफियाहरुलाई कारवाही गरेरै छाडने मालपोत प्रमुख गम बहादुर विकको दावी
Posted On: Jun 09, 2018

बीरगंज २४ जेठ ।
मालपोत कार्यालय पर्साका प्रमुख गम बहादुर बिकले भूमाफियाको प्रभावमा आफू नपर्ने बताउदै कर्मचारीको आवरणमा रहेका भूमाफियाहरुलाई कारवाही गरेरै छाडने बताउनु भएको छ । रेडियो वीरगंजसँग आज कुरा गर्दै कार्यालय प्रमुख बिकले बीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गाको सम्बन्धमा भूमाफियाको चंगुलमा कर्मचारी फसेको र दोषी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने काम भई रहेको खुलासा गर्नु भयो । मालपोतको मुद्दा फाटमा कार्यरत कर्मचारीहरुको मिलोमतोमा मालपोतको ढड्डाबाट प्लट नम्बर ८१७ को पाना च्यातेर अर्कै मृतक अरुण कुमार अग्रवाल खडा गरी प्लट नम्बर २८५ को तल प्लट नम्बर ८१७ थप्न लगाई मृत्यु भएका अरुण कुमार अग्रवालको नामबाट जिवित अरुण कुमार अग्रवालको नाममा ल्याएर सो जग्गा नजमा खातुनको नाममा रजिष्टेशन पास भएपछि फेरि नजमाले अर्कै व्यक्तिलाई २०७४ चैत्र २० गते विक्री गर्न लागेकी थिईन । महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा विक्री गर्न लागेको चाल पाएपछि ८१७ नम्बरको कित्ता आफ्नो भएको बताउदै रोक्काको निवेदन दिएपछि वास्तविक रहस्य सार्वजनिक भएको मालपोत प्रमुख गम बहादुर विकले बताउनु भयो । यी सबै घटना आफू आउनु भन्दा अगाडी नै भएको हुँदा आफूले चैत्र २० गते नगरपालिकाको निवेदन पछि सो जग्गा नजमाले विक्री गर्नबाट रोक लगाएको र सो जग्गामा मरि सकेको अरुण कुमार अग्रवाल, जिवित अरुण कुमार अग्रवाल र वीरगंज महानगरपालिकाको दावी रहेको हुँदा यसमा दोषी मालपोत, नापी, महानगरपालिकाका कर्मचारीलाई कारवाही हुनु पर्ने पक्षमा आफू रहेको समेत मालपोत प्रमुख विकले बताउनु भयो । तत्कालिन वीरगंज उपमहानगरपालिकाले २०६१ सालमा आफ्नो स्वामित्वमा लिएको जग्गा व्यक्तिको नाममा पास गर्ने चलखेलमा भूमाफिया लागेको र हाल यो मुद्दा अदालतमा गएको समेत विकले जानकारी दिनुभयो । भूमाफिया र मालपोतका दोषी कर्मचारीको विरुद्ध स्थानिय प्रशासन हुदै मालपोत विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । 

Comments