Listen Live

​भूमाफियाले निचुटाको करोडौ मुल्यको साढे १० विगाहा जग्गा गायब गराएको खुलासा
Posted On: Jun 09, 2018

२३ जेठ ।
कर्मचारीको आवरणमा रहेका भूमाफियाको आतंकको समाचार सार्वजनिक भएपछि पर्सा मालपोत कार्यालयमा खैलाबैला मच्चिएको छ । बीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरको कित्ता नम्बर ८१७ लाई व्यक्तिगत नाममा दर्ता गर्न सफल माफियाहरुले पर्साको निचुटामा जमुना देवी सापकोटाको नाममा रहेको साढे १० विगाहा जग्गा नक्कली नातेदार खडा गरी मालपोतको लेखत समेत गायब गरेर भूमाफियाहरुले मच्चाएको आतंकको सम्बन्धमा थप समाचार प्राप्त भएको छ । काठमाण्डौ कमलपोखरी– ४ बस्ने टिकानाथ सापकोटाकी श्रीमति जमुना देवी सापकोटाको नाममा रहेको पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ निचुटाको कित्ता नम्बर १२४ को २ विगाहा १९ कठ्ठा, १३९ को २ विगाहा १३ कठ्ठा १० धुर, कित्ता नम्बर १२५ को ४ विगााह, कित्ता नम्बर १२६ को ११ कठ्ठा र कित्ता नम्बर १२७ को ५ कठ्ठा १० धुर गरी झण्डै साढे १० विगाहा भन्दा बढीको जग्गा भूमाफियाहरुले अर्कैको नाममा विक्री गरेको भेटिएको छ । ८० बर्षिय जमुना देवीको मृत्यु भएपछि निजका सन्तान नरहेको र जेठाजु, देवरका छोराहरु बाबुलाल सापकोटा, दुर्गा प्रसाद सापकोटा, बुहारी देवी कुमारी सापकोटा, रत्न माया सापकोटाले नाता प्रमाणित सहित जग्गा हकभोगका लागि पर्सा मालपोतमा आवश्यक कागजात सहित आउँदा सो जग्गा दलालहरुले मृतकको नक्कली नातेदार काभ्रेको नवराज सापकोटालाई खडा गरि विक्री गरेको भेटेपछि भूमाफियाको चलखेल सार्वजनिक भएको हो । नक्कली नातेदार नवराज सापकोटाले सो जग्गा बारा दक्षिण झिटकैया ९ निवासी दुरुपति देवी नुनियाईन, जोगिन्दर महतो, ललिता महतो, रवि महतोको नाममा विक्री गरेको र निजहरुले सो जग्गा तत्कालै समर्पण रियल स्टेट प्रा.लि.लाई विक्री गरेपछि पिडितहरुले हाल सो जग्गा रोक्का लागि मालपोत कार्यालयमा उजुरी दिनुका साथै नक्कली नातेदारलाई कारवाहीको लागि अदालतमा मुद्दा दायर समेत गरेका छन् । मालपोतका कर्मचारीले सो जग्गाको लेखत ६ महिना देखि गायब बनाएको र वास्तविक जग्गा धनीको करोडौको सम्पति दलालहरुले बाडेर खाएको निचुटाका स्थानिय वृजेश कुमार साहले बताउनु भयो । मालपोत कार्यालयका मुद्दा फाँट र मुल्यांकन फाँटका कर्मचारीहरुको आतंकका कारण पर्सेली जनताको अर्बौको अचल सम्पति गायब हुने घटना बढदै गएको भन्दै निचुटा कै स्थानिय  विनोद साहले आक्रोश व्यक्त गर्नु भयो । 

Comments