Listen Live

​सिमामा खोलिएका मदिरा पसल बन्द गर्न निर्देशन
Posted On: Jun 09, 2018

बीरगंज २२ जेठ ।
प्रदेश नम्बर २ सरकारले नेपाल भारत सिमा क्षेत्रमा खोलिएका मदिरा पसल बन्द गर्न निर्देशन दिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा बसेको सुरक्षा बैठकले सीमावर्ती क्षेत्रमा रहेको मदिरा पसल बन्द गर्ने निर्णय गरेको हो ।  यो सगै   नेपाल भारतको सीमाक्षेत्रमा  १ किलोमिटरभित्र रहेका मदिरा पसल हट्ने भएका छन् । यस्तै, मदिरा सेवन गरेर सवारीसाधन हाँक्नेलाई नियन्त्रणमा लिने र कानुन अनुसार मुद्दा चलाइने समेत निर्णय गरेको छ । सुरक्षा बैठकले घरेलु मदिरा को उत्पादन र बिक्री–वितरणमा पनि कडाई गर्ने निर्णय गरेको छ । आन्तरिक मामिलामन्त्री यादवले घरेलु मदिरा उत्पादन गर्ने भट्टी र विक्री–वितरण रोक्न निर्देशन दिइएको बताउनुभयो । भारत, विहार सरकारले मदिरा को सेवन र बिक्री–वितरणमा रोक लगाएपछि प्रदेश २ का ८ वटै जिल्लाका सीमावर्ती क्षेत्रमा सयौंकोे संख्यामा मदिरा पसल सञ्चालनमा रहेका छन्  । नेपालतर्फको दशगजा क्षेत्रमै खोलिएका मदिरा पसल विहारका मदिरा पारखीका लागि सेवन गर्ने थलो बनेको छ । सीमावर्ती क्षेत्रमा खोलिएका मदिरा  पसलका कारण चोरी, लुटपाट र अन्य आपराधिक घटना बढेपछि प्रदेश सरकारले त्यसमा कडाई गर्ने निर्णय गरेको आन्तरिक मामिलामन्त्री यादवले जानकारी दिनुभयो । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले पर्साको ठोरीदेखि सप्तरीको रामपुरा मलहनिया सीमा नाकामा खोलिएका मदिरा  पसल हटाउन सबै जिल्लाका प्रहरी प्रमुखलाई पत्राचार गरिसकिएको बताउनुभयो ।  मदिरा नियन्त्रणको अभियान कडाईका साथ लागू गरिने उहाले जानकारी दिनुभयो । साथै प्रदेश २ को सुरक्षा बैठकले लागुऔषध सेवन र ओसारपसारलाई नियन्त्रण गर्न अभियान थाल्ने निर्णय समेत गरेको छ ।

Comments