Listen Live

​पर्सा मालपोतमा भूमाफियाको आतंकका कारण जनताको अर्बौको अचल सम्पतिको सुरक्षामा संकट
Posted On: Jun 09, 2018

बीरगंज २२ जेठ ।
पर्सा मालपोत कार्यालयका कर्मचारीको अवरणमा रहेका भूमाफियाको आतंकका कारण जनताको अर्बौको अचल सम्पतिको सुरक्षा संकटमा परेको छ । वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रमा रहेका सार्वजनिक तथा पर्सेली जनताको अचल सम्पतिको रुपमा रहेको जग्गाको निस्सा तथा प्रमाण नष्ट गर्ने  र अर्कै व्यक्तिलाई नामसारी तथा विक्री गर्ने सम्मका षडयन्त्रहरु पर्सा मालपोतमा हुने गरेको घटना सार्वजनिक भएको छ । बीरगंज महानगरपालिकाको स्वामित्वमा आदर्शनगरमा रहेको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा विना साविक प्रमाणले नगरपालिकालाई जानकारी नै नदिई मालपोत कर्मचारीको संलग्नतामा बेच विखन भएको समाचार बाहिर आएको छ । तत्कालिन नगर विकास समितिले विक्री वितरण गरेको आदर्शनगरको विभिन्न प्लटका जग्गाहरु मध्ये प्लट नम्बर ८१७ को जग्गा नगर विकास समितिकै नाममा मालपोत तथा तत्कालिन विरगंज नगरपालिकामा लगत कायम रहेको अवस्थामा विरगंज निवासी अरुण कुमार अग्रवालले २०४५ सालको नापी नक्सामा सो कित्ता नम्बरको जग्गा विना साविक प्रमाणले आफ्नो नाममा नाप नक्सा गराई अप्रमाणित फिल्ड बुक तयार गरेर हडपेकोे घटना २०६२  सालमा आएर सार्वजनिक भएको थियो । घटना सार्वजनिक भए लगतै वीरगंज नगरपालिकाले सो दर्ता बदर गर्न तथा दृष्टिवन्धक फुकुवा गर्न लगाई नगरपालिकाकै नाममा लगत कायम गरी आफ्नो नियन्त्रणमा लिएको थियो । फेरि अहिले सो जग्गालाई हाल पर्सा मालपोतको मुद्दा फाटमा कार्यरत नासु सुबेदार यादव लगायतका कर्मचारीको मिलोमतोमा मालपोतको ढड्डाबाट प्लट नम्बर ८१७ को पाना च्यातेर अर्कै मृतक अरुण कुमार अग्रवाल खडा गरी प्लट नम्बर २८५ को तल प्लट नम्बर ८१७ थप्न लगाई मृत्यु भएका अरुण कुमार अग्रवालको नामबाट जिवित अरुण कुमार अग्रवालको नाममा ल्याएर सो जग्गा बीरगंज निवासी महम्मद सहाबुद्दिनको श्रीमति नजमा खातुनको नाममा रजिष्टेशन पास भएको छ । नजमा खातुनको नाममा जग्गा पास भएपछि मात्र बीरगंज महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा भूमाफियाले विक्री गरेको चाल पाएको थियो । नजमा खातुनको नाममा रजिष्टेशन पास भएको जग्गा अहिले नगर प्रमुख विजय सरावगीको सक्रियतामा पुनः भूमाफियाबाट फिर्ता ल्याउने प्रयासमा महानगरपालिका जुटेको छ । मालपोत कार्यालयमा रहेको श्रेस्ताको पाना नै च्यातेर भूमाफियाले गरेको यस्ता कुकृत्यले आम पर्सेली जनताको अचल सम्पति गुम्ने खतरा बढेको छ । यस सम्बन्धमा वीरगंज महानगरपालिका नगर प्रमुख विजय सरावगीले नगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरको ८१७ नम्बर कित्ता सहित विगतमा नगरविकास समितिको नाममा रहेका २१ वटा प्लटहरु महानगरपालिकाको स्वामित्वमा आएको र ति सबै जग्गालाई हाल महानगरपालिकाले भूमाफियाको कब्जाबाट बचाउने प्रयासमा लागेको बताउनु भयो । उहाँले यस कार्यमा मालपोत, नापी, नगरपालिकाका कर्मचारी दोषी भेटिएको र उनिहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत स्थानिय प्रशासनमा समेत कारवाहीका लागि उजुरी परेको बताउनु भयो । उहाँले नगरपालिकाको सार्वजनिक सम्पतिलाई हडप्ने भूमाफिया तथा संलग्न कर्मचारीलाई कारवाही गराएरै छाडने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।  

Comments