Listen Live

​वाम एकता जनताको साझा सम्पति भएको दावी ः अध्यक्ष प्रचण्ड
Posted On: Apr 27, 2018

बीरगंज १३ बैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता जनताको साझा सम्पति भएको बताउनु भएको छ । आज रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन  दिँदै अध्यक्ष दाहालले अहिले सिंगो देशले वाम एकता चाहेको दावी गर्नु भयो । उहाले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताउनुभयो । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्ष प्रचण्डले  यो एकताको बिषय सजिलो गरी नभएको बताउनुभयो । कम्युनिष्टहरुबीच पहिला नै  एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० साल जेठको ६÷७ गते छलफल गर्ने कुरा भएकोमा  उहाँको त्यही बीचमै हत्या भएको खुलासा गर्दै अब पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिईने बताउनु भयो । उहाँले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान समेत  गर्नुभयो ।  अध्यक्ष प्रचण्डले अहिले देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको कुरामा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नम्बर २ का कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबिच पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुुभएको छ । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले उक्त विचार राख्नुुभएको हो । देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उहाँले स्पष्ट पार्नुुभएको छ । अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको बताउनुभयो । देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभुु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूुचीमा परेको उहाँले जानकारी दिनुुभयो । 
यसैबिच सर्लाहीको हरिपुर्वा नगरपालिका ९ बसतपुरमा आज आयोजित मुस्लिम समुदायको (सैएयदुल कौनैन) अन्तर्राष्ट्रिय भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिचान र अधिकार खोज्दै लामो संघर्षका बावजुद मुस्लिम समुदाय देशको राजनीतिक मुलधारमा आएको बताउनु भएको छ । उहाँले मुस्लिम समुदायले अब शिक्षामा जोड दिनु पर्ने र आफ्ना वालबालिकालाई उच्च शिक्षा हासिल गराउनु पर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो अथक प्रयासले मुस्लिम आयोगको गठन गरिएको बताउदै हालै गठित सरकारमा मुस्लिम समुदायबाट सहभागिता नभएकोमा आफू दुखित भएको बताउनु भयो । कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको परिणाम स्वरुप मुस्लिम समुदायको व्यक्ति प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्नु भएको बताउदै आगामी दिनमा मुस्लिम समुदायबाटै प्रधानमन्त्री समेत बन्न सक्ने दावी गर्नु भयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सबै वर्ग, समुदाय, जनजातिको उत्थानका लागि सरकारले काम गरि रहेको बताउदै मुस्लिम समुदाय अब अधिकार सँगै समृद्धिमा समेत लाग्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले  मधेशी तथा मुस्लिम जनताले सबै क्षेत्रमा समावेशी खोजेको बताउदै राज्यका हरेक अंगमा समान सहभागिता हुनु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायका बालबालिकालाई बाख्रा चराउन र सिलाउन कटाई गराउन नभई शिक्षा हासिलका लागि विद्यालय पठाउनु पर्ने कुरामा जोड दिदै बच्चा शिक्षित भएमा अधिकार लडेर लिन सक्ने  दावी गर्नु भयो । ्संघिय समाजवादी फोरम नेपालले मुस्लिमहरुको सम्मान स्वरुप आफूलाई मुख्यमन्त्री बनाएको बताउदै शिक्षाकै कारण आफू यो स्थानमा पुगेको बताउनु भयो । मुस्लिम समुदायको अन्तर्राष्ट्रिय भेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुकका धर्मगुरुहरुको सहभागिता रहेको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतका निजी सचिव दिपक यादवले बताउनु भयो ।

Comments