Listen Live

​चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा चुलिएर सात खर्ब नाग्यो
Posted On: Apr 13, 2018

बीरगंज ३० चैत्र । 
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा चुलिएर सात खर्ब नाघेको छ ।  यो घाटा अघिल्लो वर्षको भन्दा २३ प्रतिशतले बढी हो । भारत लगायत तेस्रो मुलुकबाट  ५३ अर्बको निर्यात गर्दा सात खर्ब रुपैयाँको आयात गरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो आठ महिनाको मुलुकको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार ५३ अर्ब ४२ करोड रुपैयाँको निर्यात गरेको छ भने सात खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यस अनुसार आठ महिनामा सात खर्ब १४ करोड रुपैयाँको व्यापार घाटा मुलुकले बेहोर्नु परेको छ । यस अवधिको कुल व्यापारमा निर्यातको ७ र आयातको ९३ प्रतिशत योगदान छ । यस अवधिमा कुल वस्तु निर्यात १०.८ प्रतिशतले र आयात २२.१ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार भारतबाट हुने आयात २२.३ र चीनबाट हुने २२.२ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार अलैंची, जुटको बोरा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने जिआई पाइप, जुस, उनी गलैंचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ । त्यसैगरी, आठ महिनामा पेट्रोलियम पदार्थको आयात सय अर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । 

Comments