Listen Live

वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कोरियन कम्पनीसँग वार्ता हुदै
Posted On: Apr 10, 2018

बीरगंज २७ चैत्र ।
वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न रेलवे विभागले एक कोरियन कम्पनीसँग वैशाख पहिलो साता वार्ता हुने भएको छ । विभागले गत मंसिर १४ गते यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न टेन्डर आह्वान गरेको थियो । १५ वटा कम्पनीले सम्भाव्यता अध्ययनका लागि  टेन्डर हालेका थिए । त्यसमध्ये दक्षिण कोरियाको सुसुङ कम्पनीसँग विभागले ‘नेगोसियसन वार्ता’ गर्न लागेको हो । ‘सुसुङलाई वैशाख पहिलो हप्ता नेगोसियसन वार्ताका लागि बोलाएका छौं, त्यो वार्ता सकारात्मक भयो भने सम्झौताको प्रक्रिया अघि बढ्छ,’ विभागमा सूचना अधिकारी प्रकाश भक्त उपाध्यायले  बताउनु भयो । कम्पनीले सम्झौता भएको छ महिनाभित्र रेलमार्गको सम्भाव्यता अध्ययन सक्नुपर्ने उपाध्यायले बताउनु भयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा पनि भारतीय सहयोगमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग बनाउने सहमति भएको छ। एक वर्ष्भित्र  रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । सूचना अधिकारी उपाध्यायले विभागले गर्ने सम्भाव्यता अध्ययनले भारतले बनाउने भनेको रेलमार्गमा सहयोग पुग्ने बताउनुभयो । 

Comments