Listen Live

भारतसंग देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
Posted On: Apr 03, 2018

चैत्र २० । 
प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट् पार्नु भयो ।  ‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ भन्दै ‘देशको शिर निहुरिने, अपमानबोध हुने कुनै काम नगरिकन सम्माजनक सम्बन्ध कायम राख्ने दावी गर्नु भयो । नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग पनि पारस्परिक सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले ‘भ्रमणलाई देश र जनताको हितमा कसरी धेरैभन्दा धेरै उपलब्धिपूर्ण बनाउन सकिन्छ त्यसतर्फ आफ्नो  ध्यान केन्द्रित हुने बताउनु भएको छ । उहाँले भ्रमणका क्रममा भारतसँग नयाँ सन्धि, सम्झौताभन्दा पनि विगतका सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिने बताउदै ‘भारत भ्रमणमा सम्झौताको संख्यामाभन्दा सम्बन्धलाई यथार्थपूर्वक अगाडि बढाउँदै पहिला भएका सम्झौताहरुको कार्यान्वयन कसरी गर्ने भन्नेमा  ध्यान केन्द्रित गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चैत्र २२ भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।  
यसैविच मन्त्रीपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनुमोदन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले आउँदो शुक्रबारदेखि गर्ने भारत भ्रमण अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले चैत २८ गतेबाट विघटन गरिने भनिएको जिल्ला शिक्षा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने निर्णय गरेको छ । विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहेकोले चैत २८ गतेबाट जिल्ला शिक्षा कार्यालय खारेज नगरिने भएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने भएका थिए । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैकले दिने १० अर्ब अनुदान रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Comments