Listen Live

​भारतमा बन्दको प्रभाव, हिंसात्मक बन्दै दलित आन्दोलन, ४ जनाको मृत्यु
Posted On: Apr 02, 2018

चैत १९ ।
भारतमा केही दिनअघि सर्वोच्च अदालतले दलित समुदायसँग सम्बन्धित कानूनमा ल्याएको परिवर्तनको विरोधमा त्यहाँका दलित संगठनहरुले देशव्यापी भारत बन्दको आह्वान गरेका छन् । अदालतले अनुसूचित दलित र जनजातिहरुप्रति असुरक्षा बढाएको भन्दै विभिन्न दलित समर्थित संघसस्थाले सोमबार  भारत बन्दको आह्वान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाब, हरियाणा, बिहार, उडिसा र अन्य धेरै प्रान्तमा बन्दको असर परेको छ भने धेरैजसो स्थानमा बन्दले हिंसात्मक रुप लिएको छ। प्रदर्शनकारीले प्रायस् सबै प्रान्तमा प्रहरी चौकी, पसल, रेल्वे स्टेशन र सवारी साधनमा आगजनी गरेका छन् । मध्य प्रदेशस्थित ग्वालिएर सहरमा बन्दले हिंसात्मक रुप लिँदा १९ जना बन्दकर्ता घाइते भएका छन भने प्रहरीको गोली लागि २ जनाको ज्यान गएको छ। ग्वालियरमा स्थानीय प्रशासनले भोलि बिहान ६ बजे सम्मका लागि इण्टरनेट सेवा बन्द गरेको छ। त्यस्तै सोही प्रान्तको मुरैना जिल्लामा पनि २ प्रदर्शनकारीको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशका आग्रा, सरानापुर, बारणसी, मेरठ लगायतका  सहरमा बन्दकर्ताले रेल सेवामा समेत अवरोध गरेका छन्। मेरठमा प्रहरी चौकीमा आगजनी गर्नुका साथै त्यहाँका विधायकको निवासमा समेत आगजनी प्रयास गरेका थिए । पंजाबमा सोमबार हुने भनिएको सीबीएसइको कक्षा १० र १२ को बोर्ड परीक्षा रद्द भएको छ भने त्यहाँका यातायात र इन्टरनेट सेवा ठप्प छन् । दिल्लीको संसद मार्गमा पनि प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । भारतीय काङ्ग्रेसले समेत समर्थन जनाएको भारत बन्दलाई प्रोत्साहित गर्दै नेता राहुल गान्धीले  दलित समुदायलाई सडकमा उत्रेर नरेन्द्र मोदीसँग अधिकारका लागि लड्न ट्विटमार्फत आह्वान गरेका छन् । 

Comments