Listen Live

मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशनः मन्त्री यादव
Posted On: Mar 31, 2018

चैत्र १७ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिनु भएको छ । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई सय ३३ जना कर्मचारी हटाउन निर्देशन दिइएको छ भने आयल निगममा दुई सय १५ कर्मचारी हटाउन निर्देशन दिइएको छ ।  निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशिल भट्टराईले मन्त्रालयको निर्देशनपछि भर्ना गरिएका कर्मचारी हटाउने प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार खासगरी संस्थानका विभिन्न इन्धन डिपोहरूमा र सामान्य कामदारका रुपमा आवश्यकता हेरेर लामो समयदेखि कर्मचारी भर्ना गरिएका छन् । खाद्य संस्थानमा तोकादेशका आधारमा जथाभावी कर्मचारी भर्ना गरेको भन्दै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अघि बढाएको छ ।  

Comments