Listen Live

​भेनेजुएलाको कारागारमा झडप र आगलागीमा ६८ जनाको मृत्यु
Posted On: Mar 29, 2018

१५ चैत ।
भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ । केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताउनुभएको छ । खचाखच बन्दीहरु राखिएको सो बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको र त्यसका कारण थुनुवाहरू भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरुले उक्त गृहमा राखिएका विछ्यौनाहरुमा आगो लगाएका थिए । त्यसपछि आगलागी शुरू भएको प्रहरी अनुसन्धानको पछिल्लो विवरणमा जनाइएको छ । थुनुवाहरुलाई भेट्न गएका आफन्तहरुले पनि आगोका कारण धेरैका ज्यान गएको बताएका छन् । यस झडप र आगलागीको खबरपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।  

Comments