Listen Live

अष्ट्रेलियाली कप्तान स्टिभन स्मीथ र उपकप्तान डेबिड वार्नरलाई पदबाट हटाईयो
Posted On: Mar 25, 2018

चैत्र ११ ।
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेटकाक्रममा नियोजितरुपमा बल बिगारेको स्वीकार गरेपछि अष्ट्रेलियाली कप्तान स्टिभन स्मीथ र उपकप्तान डेबिड वार्नरलाई पदबाट हटाइएको छ । ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल बिगारेको क्यामेरामा देखिएपछि कप्तान स्मीथले नियोजितरुपमा बल बिगारेको स्वीकारेका थिए । योसँगै केपटाउनमा जारी तेस्रो टेस्टका बाँकी दुई दिनका खेलको अष्ट्रेलियाको कप्तानी विकेटकिपर टिम पाइनेले सम्हालेका छन् । क्रिकेट अस्ट्रेलियाका सीइओ जेम्स सदरल्यान्डले स्मीथ र वार्नरले पद छोड्न राजी भएअनुसार हटाइएको जनाएका छन् । उनले यो घटनाबारे अनुसन्धान जारी रहने पनि जनाएका छन् । शनिबारको खेलमा बानक्रफ्टले बल बिगारेको घटना टेलिभिजनमार्फत् प्रत्यक्ष देखाएपछि स्मीथ र उनले माफी मागेका थिए । घटनापछि अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले सो घटना अत्यन्तै निराशाजनक भन्दै दुःख व्यक्त गरेका छन् । क्रिकेटमा महत्वपूर्ण प्रभाव जमाउने अष्ट्रेलियाका कप्तान र उपकप्तान नै बल बिगार्ने कान्डमा मुछिएपछि अन्तर्रा्ष्ट्रियस्तरमै क्रिया–प्रतिक्रिया आइरहेका छन् 

Comments